मुम्बाई, साउन २७ – बलिवुडमा यति बेला आइटम नम्बरहरुले निकै चर्चा बटुलेका छन् । आजभोली हरेक चलचित्रमा एउटा न एउटा आइटम नम्बर राख्न थालेका छन् ।
पहिले स–साना कलाकारहरुले मात्र आइटम नम्बर गर्थे र उनीहरुलाई ‘आइटम गर्ल’ भनेर चिनिन्थे । तर, आजभोली बलिवुडका प्रख्यात कलाकारहरु आइटम नम्बर गर्न तछाडमछाड गर्न थालेका छन् । कट्रिना कैफको ‘शीलाकी जवानी’, ‘चिक्नी चमेली’ जस्ता आइटम गीत हिट भएपछि त झन् ठूला कलाकारहरुले आइटम नम्बर गर्ने होडबाजी नै चलेको छ । यस लिस्टमा करिना कपुर, चित्रांगदा सेनदेखि अमिर खानसम्मले आइटम नम्बर गरेका छन् ।
उनीहरुले अभिनय गरेका आइटम नम्बर हिट पनि भएका छन् र निकै चर्चा कमाएका छन् । पछिल्लो समय ‘इन माई सिटी’ र ‘एक्जोटिक’ नामक गीतको म्युजिक भिडियो निकालेर चर्चा कमाएकी पिगी चप्स् यानी प्रियंका चोपराले पनि पुरानो चलचित्र जन्जिरको रिमेकमा आइटम नम्बर गरेकी छिन् । तर, उनको यो आइटम नम्बरले उनको फ्यानहरुलाई निरास बनाएको छ र यसले अन्य आइटम गीतहरुजस्तै चर्चा कमाउन असफल भएको छ ।
प्रियंकाले यसअघि ‘सुट आउट एट वडाला’ मा ‘बब्ली बद्मास हुई’ मा आइटम नम्बर गरेपछि उत्तेजक नृत्य नगर्ने बताए पनि यस नयाँ गीत ‘पिंकी हे पैसेवालो की’ मा निकै उत्तेजन नृत्य गरेकी छिन् । त्यसको साथै गीतको बोल पनि उत्तिकै सस्तो छ । त्यही भएर होला आइटम गीतका लागि चर्चित गायिका ममता शर्माले गाएकी र गणेश आचार्यले कोरियोग्राफ गरेको यो गीतले युट्युवमा त्यति धमाका मचाउन सकेको छैन




